काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अन्ततः अविश्वासको प्रस्ताव अगाडि बढाउन सहमत देखिएको छ । बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।
यसअघि काँग्रेसको संस्थापन पक्ष अविश्वासको प्रस्ताव अगाडि बढाउने पक्षमा थिएन । काँग्रेस उच्च स्रोतका अनुसार बुधबारको बैठकमा भने सभापति शेरबहादुर देउवाले दुई/तीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताए ।
बैठकमा काँग्रेस नेताहरुले आगामी राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए । दुई–तीन दिनमै एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ ।
