काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा तोकेर नै चैत मसान्तमा कायम ब्याजदरको २ प्रतिशत ब्याजदर घटाउन निर्देशन दिएको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा भने कति छुट दिने तोकेको छैन । यद्यपि, निषेधाज्ञा अवधिमा ब्याज तिर्ने ग्राहकलाई छुट दिन बैंकहरुलाई प्रोत्साहन भने गर्ने राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्र र कर्जाको नवीकरण सम्बन्धि ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले नै सक्ने व्यवस्था गर्ने जनाएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यता, ब्याज पुँजीकरणका लागि भने राष्ट्र बैंकबाट स्वीकृतीप्राप्त गरिसकेका विद्युत परियोजनाहरुको व्यावसायिक उत्पादन मिति परिवर्तन भएमा उक्त अवधिको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था भएको छ ।
