काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भङ्ग गर्ने सिफारिस गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् विश्वासको मत नलिएका, विश्वासको मत प्राप्त हुन सक्ने स्थिति छैन भनेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न मिल्छ भन्दै प्रश्न गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटनबारे यसपटक के निर्णय लिनेछ, त्यसले नै भावी बाटो तय गर्ने उनको भनाइ छ ।
उनले देशका भूपू प्रधानमन्त्रीसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमा पुगेपछि छानविन गर्न पर्छ कि पर्दैन ? सोधेका पनि छन् । मिश्रले कोरोना महमारीका कारण जनता मारमा परिरहेका बेला अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्ने ? पनि भनेका छन् ।
यस्ता छन् उनको प्रश्न
अपराधको पराकाष्ठा !
१. विश्वासको मत नलिएका, त्यो प्राप्त हुन सक्ने स्थिति छैन भनेका, सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिस गर्न मिल्छ
२. देशका भूपू प्रमसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमै पुगेपछि, त्यो पहिलेबाट छानविन गर्न पर्छ कि पर्दैन ?
३. देशमा महामारी छ । मान्छे मरिरहेका छन् । नागरिकहरू स्वयं औषधि, अक्सिजन, खानाको जोहो गरेर निसाहयलाई सहयोग गरिरहेका छन् । विदेशीहरु विमान चार्टर गरेर सहयोग लेराइरहेका छन् । सरकारचाहिँ यस्तो अवस्थामा अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्ने ?
४. प्रश्नहरू फेरि गएर सर्वोच्च अदालतमा ठोकिएको छ । सर्वोच्च अदालतले संसद विघटनबारे यसपटक के निर्णय लिनेछ, अहिलेको स्थितिमा हेर्दा, त्यसले नै भावी बाटो तय गर्ने देखिन्छ । भूराजनीतिक चलखेल, आन्तरिक राजनीति र व्यक्तिहरूको महत्वाकांक्षाको असर सर्वोच्चमा नपरोस् भन्ने कामना गरौँ !
