बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड-१९ सङ्क्रमणविरूद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ।
नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो। निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो।
आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका थिए।
नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करिब तीन लाख पचास हजार खोप कोभ्याक्समार्फत् छुट्टाइसकेको लर्ड अहमद अफ विम्बल्डनले बताए।
दुई दिन अगाडिमात्र नेपालका परराष्ट्र मन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए।
केही दिनअगाडि मात्र बेलायतकी चर्चित नायिका जुवाना लुम्लेलगायत करिब पचास जना बेलायतीले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए।
यहाँका नेपाली सङ्घसंस्थाले संस्थागत रूपमै पिटिसनमार्फत् एक्यवद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन्।
