नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार घटनामा जनता समाजवादी पार्टीका नेता संलग्न भएको थाहा भएको छ।
कपिलवस्तु प्रहरीले सार्वजनिक गरेका दुई जनामध्ये कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।
कपिलवस्तु नगरपालिकाकै वडा नम्बर २ का ३३ वर्षीय साकिर अलि पाखियासहितले माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेका थिए। घटना यादवको योजनामा भएको प्रहरीले जनाएको छ।
पाण्डेलाई यादवसहित तीन जनाको समूहमा मोटरसाइकलमा रहेको टोलीले जेठ ५ गते राति गोली हानेको थियो। यादवले उक्त मोटरसाइकल चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ।
यादव प्रदेशसभा सदस्य सहसरामका स्वकिय सचिव रहेको कपिलवस्तु प्रहरीले जनायो।
यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्।
प्रहरीले सुटरलाई भने पक्राउ गरिसकेको छैन।
नेता पाण्डेको पेटमा दुई राउन्ड गोली प्रहार भएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद इर्साद खान घाइते भए पनि अवस्था सामान्य छ।
घटनामा संलग्नबाट लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल, २ थान मोबाइल, १ थान जंगी राउन्ड, १ थान खोका पनि बरामद गरिएको अधिकारीले बताए।
यादवले व्यक्तिगत रिसइबीका कारण गोली प्रहारको योजना बनाएको स्वीकारेको प्रहरीले जनाएको छ।
