काठमाडौं । कोरोना संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नयाँ तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार अब हरेक दिन बिहान ११ देखि कम्तीमा दुईवटा केन्द्रबाट परीक्षण हुनेछ । यसअघि, दैनिक एक केन्द्रबाट मात्र हुने गरेकोमा अब दुईदेखि तीन केन्द्रबाट परीक्षण हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नुपर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुनेछ ।
नयाँ तालिकाअनुसार आइतबार वडा नम्बर–२९ को पद्मकन्या स्कुल डिल्लीबजार र वडा–४ को विशाल मिलनकेन्द्रमा परीक्षण गरिएको छ । सोमबार वडा–१६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा–२० को शान्ति निकुञ्ज विद्यालय र वडा–३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।
मंगलबार वडा–८ को जयवागेश्वरी, वडा–१४ को कलंकी र वडा–२६ को लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साबिक ट्रलीबस परिसरमा र वडा–१५ को भुइँखेलमा, बिहीबार वसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा–३ कार्यालय परिसर महाराजगन्ज र वडा–६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।
महानगरको यो सेवा निःशुल्क हो । परीक्षण गर्न जानुअघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट)मा बिरामीको विवरण भर्नुपर्छ । प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।
महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुसाल भन्छन्, ‘‘अनलाइनमा तथ्यांक भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो, उसको यो विवरण अनिवार्य हुन्छ । कुनै कारणले परीक्षण पूर्वविवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ ।”
