काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल ट्विटमा नेता रावलले केपी ओली पक्षले गरेको निर्णय फुटवादको निरन्तरता भएको समेत उल्लेख गरेका छन् ।
“पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,” उनले ट्विटरमा लेखेका छन् ।
सोमबार बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ जनालाई पार्टीको सदस्यबाट निकाल्ने निर्णय गरेको थियो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनाको माग गर्न दायर गरेको हस्ताक्षर गरेका १२ सांसदलाई भने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
