गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ ।
पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् ।
घटनामा संलग्नमाथि सजायको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनालले बताए ।
नवराजका साथै अन्य मृतक सञ्जु विक, गणेश बुढा र लोकेन्द्र सुनारका बुवाआमाले छोराहरूका सम्झनामा लाखबत्ती बालेर पूजा गरे ।
हत्यामा संलग्न अभियुक्त ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने मुनलालले बताए । पीडित परिवारका सदस्यले न्यायका लागि आफूहरु चारचार पटक रुकुम जिल्ला र उच्च अदालत सुर्खेत तथा दुई पटक सर्वोच्च अदालत पुगेको बताएका छन् ।
पीडितले घटनाको मुख्य योजनाकार भनिएका प्रकाश मल्लसहित ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको पीडित मुनलालले बताए ।
सोती काण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम (पश्चिम) मा मुद्दा दायर भएको थियो ।
तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् ।
