काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियता बढेको छ । अघिल्लोपटक संसद् विघटन हुँदा निस्क्रिय र त्यसकै पक्षमा देखिएका देउवाको यसपटक भने विपक्षमा सक्रियता बढेको हो ।
प्रधानमन्त्रीले ६ महिनामै दोस्रोपटक संसद् विघटन गरेपछि कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका देउवाले अदालतमा रिट दायर गरेपछि राजनीतिक सक्रियता पनि बढाएका छन् । देउवाले आज विपक्षी गठबन्धनको बैठक राखेका छन् भने भोलि बिहान ९ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफलका लागि भन्दै देउवाले विपक्षी दल र सत्तारुढ दलकै विपक्षी नेताहरुलाई बैठकमा राखेर कानुनी रुपमा राजनीतिक लडाइँ कसरी अघि बढाउने भन्ने विषयमा नेताहरुसँग सुझाव लिएका हुन् । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक राखेका देउवाले अन्य दलको मत बुझेर पार्टी रणनीति तय गर्न लागेका छन् ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बुधबार बिहान ९ बजेका लागि डाकेका छन् ।
