काठमाडौं । जनता समाजवादी पार्टीको आन्तरिक विग्रह उत्कर्षमा पुगेको छ । विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोभन्दै जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण माग गरेका छन् । र, तीन दिनभित्र जवाफ दिन भनेका छन् ।
स्पष्टीरकणमा मौजुदा प्रधानमन्त्री ओलीले मधेसभावनाअनुसार आन्दोलनकारीको झुटा मुद्दा खारेज, संविधान संशोधन गर्न कार्यदल र नागरिकता अध्यादेश जारी गरेकोमा तपाईंलाई किन ठेस, आघात पुग्यो भन्दै प्रश्न गरिएको छ ।
विगतका दिनहरूमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठबन्धनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरू माथि लगाइएका झुटा मुद्दा फिर्ता, बन्दी रिहाइ, उत्पीडित जातजाति र समुदायहरूको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकतासम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरूप सकारात्मक कामहरू गरिरहेको अवस्थामा तपाईंलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारबाही प्रक्रियाअगाडि बढाउनु भयो ?” उनले सोधेका छन् ।
