विनाशकारी विश्वव्यापी कोरोना जीवाणु व्यथा पटक पटक आफ्नो स्वरूप आकार प्रकार लहर परिवर्तन गर्दै झन्झन अत्याइरहेको छ । संसारमा आर्थिक, सामाजिक जीवनलाई काकाकुल पारेको पहिलो, दोस्रो हुँदै तेस्रो स्वरूपले विश्वव्यापी मानव मात्रै होइन, समस्त प्राणी जगतलाई बिलखबन्द पारेको छ । मानिसहरू हायलकायल अत्यासपूर्ण दिनचर्या बिताउन विवश छन् । लाखौं मानिसले आफ्नो अमूल्य ज्यान र प्रियजन गुमाएका छन् । विश्वभर संक्रमण हुने र मृत्यु हुने क्रम जारी छ ।
खोप उत्पादन भएर केही ज्यान बचाउ सफल भएजस्तो देखिएता पनि अझै पूर्ण आश्वस्त हुने सञ्जीवनी बुटी फेला नपरेको भन्दा अतिशोक्ति नहोला । यथेष्ट ठोस भेउ पाउन नसकिएको प्रयासमा झन्डै कोरोनाको नयाँ जीवाणु ओमिक्रोन अद्यावधिक भ्याक्सिनले काम गरेको छ । नगरेको भए के पो हुन्थ्यो ? गरिब विपन्न अस्थिरता सत्तामाथि लुछलाछ पार्ने मुलुकहरूले आफ्ना नागरिकहरूलाई पूर्ण खोपको अनुपात पुर्याउन हम्मेहम्मे छ । लामो समय बितिसक्दा आधा जनसंख्यालाई पनि लगाउन सकिरहेका छैनन् । अझ बुष्टर डोज कता हो कता । चुस्त व्यवस्थापन भएका मुलुकबाहेक अधिकांश मुलुक अनुदान र भिक्षादानबाट वा खरिद गरेको खोप सीमित पहुँच भएकाले मात्रै पहिलो र दोस्रो मात्रा खोप लगाइएका छन् भन्दा हुन्छ ।
सहरकेन्द्रीत विकास र राज्य व्यवस्था समान पहुँच र अवसरबाट देशको दूरदराजमा बस्ने जनतालाई कसरी बेवास्ता गर्न सकिन्छ ? जनताले सकी नसकी पालेका तीन तहका सरकार छन् । आपसी वैमनस्यता, मैं खाऊँ मंै लाऊँ जस्तो निच बानीले सामान्य समन्वय पनि देखिदैंन । देशको विकट भूभागमा बस्नेहरूले राज्यबाट प्राप्त हुने सामान्य आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको छ । सहरमा बस्नेहरूले यो महामारीको समयमा गाउँ सम्झे, कति फर्के पनि । तर त्यहाँ राज्यको बेवास्ता देख्दा वाक्क दिक्क भएर फेरि सहर फर्किन र विदेशिन विवश हुन्छन् ।
यत्रो महामारीको घडीमा एकोहोरो सत्ताको माथिको छिनाझम्टी, लछारपछार फिरंगी मानवता हराएको आक्रान्त जनताको घाउमा नुनचुक छर्केको कुरा प्रहसन पीडा दिएको कुरा लुकाएर लुक्दैन । शान्ति सुरक्षाको कवच उदाङ्गो भूराजनीतिक उल्टो चक्रवात उन्मुख छ । उत्पादनमा जोड नदिई आवश्यक नीति ल्याउने तर्खर, तयारी नै छैन । सत्ताको चरमभोग जसको हालीमुहाली छ, त्यतिले सबै नागरिक राजीखुशी होलान् भन्न मिल्छ ?
भनिन्छ, अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ । आर्थिक तरलता कानुनी जटिलता, बारको आन्दोलन, संसद अवरुद्ध, विद्यालय कलेज विश्वविद्यालय बन्द, मेडिकल कलेजले चर्को शुल्क लिए भनेर विद्यार्थीको तालाबन्दी, चर्को मूल्यवृद्धिको मार, देशको व्यापार घाटा चुलिंदो, सरकार र सरकारी निकाय निकम्मा र मौन । सर्वदलीय छलफलमा यस्तो जनपक्षीय विषयले प्राथमिकताका उठान हुँदैन । यी यावत विषय एकापसमा मिलेर ती महत्त्वपूर्ण र जल्दाबल्दा समस्याको समाधान गर्नुपर्ने होइन र ?
देश हाँक्ने नेताहरु एक नभए सबैखाले समस्या, पीडा, महामारी, प्राकृतिक विपत्तिको सामना रोकथाम, नियन्त्रण असम्भव छ । राष्ट्रिय सहमति जनता र देशको हितमा हुनुपर्छ । गठबन्धन चुनावी तालमेल, सत्ता समीकरण, सत्ताको सिढी चढ्ने जोड घटाउ मात्रै नबनोस् ।
