संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ’ उनले भने ।
निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो ।
उनले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए । ‘म यहीँबाट निर्देशन दिन्छु, विमानस्थल शीघ्र सञ्चालनमा आओस्, बुद्ध जयन्ती अगाडि नै नागरिकले विमानस्थल सञ्चालनमा आएको देख्न पाउन्’ मन्त्री आलेले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एयर ट्राफिकको समस्या समाधान हुने पनि उनको दाबी छ ।
परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताएका थिए ।
