प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्ने तर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्विविधा छैन ।’
उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै बैशाखमै निर्वाचन गराउन सकिने सुनाए । उनले भने, ‘यो सरकारसँग प्रशस्त समय छ । समयको हिसाबले पनि कुनै प्रेसर छैन । हामी त त्यसको माग गरिरहेका छौं । यो संविधानसँग कानून बाझियो भनेर बैशाखबाट जेठमा लैजाने भनेको पनि यो निर्वाचन सार्ने कुरा नै हो । निर्वाचन सारेर निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि चयन गर्ने जनताको अधिकार कुण्ठित गर्न मिल्दैन । उहाँहरुले ऐन संशोधन गर्न खोजेको हो भने पार्लियामेन्टमा कसरी आउनुहुन्छ ? संविधानको धारा र स्थानीय तहको ऐन कुनैपनि हालतमा बाझिएको छैन । बाझियो भन्ने कुरा नै निर्वाचन सार्ने कुरा हो ।’
