१६ माघ, काठमाडौं । आगामी माघ १९ गतेदेखि नारायणहिटी दरबार संग्रहालयभित्र ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ हुने सञ्चालन भएको छ । माघ २९ गतेसम्म दरबार संग्राहलयको पूजाकोठामा महायज्ञ गर्न लागिएको आयोजकले बताएको छ ।
हजुरलाई नमस्ते परोपकारी अभियान र झापाको सतीश्राप मोक्ष धामले महायज्ञ गर्न लागेको महायज्ञको मुल् आयोजक समितिका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । महायज्ञ सञ्चालनका लागि नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले अनुमति दिइसकेको कुँवरले बताए ।
समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।
विभिन्न जनयुद्ध, विपद्, हत्या, आत्महत्या, दुर्घटना, भवितव्यमा परेकाहरु कयौंको अन्तिम संस्कारसहित काजक्रिया नभएकाले उनीहरुको आत्माको मोक्षका लागि महायज्ञ गर्न लागिएको कुँवरले बताए । ‘सतीको श्रापका कारण पनि देशमा शुभ अवस्था बन्न सकेको छैन, त्यसैले दरबार संग्राहलयमै महायज्ञ लगाउन खोजिएको हो,’ उनले भने,’मोक्ष हुन नसकेका आत्माहरुको मोक्षका लागि यो महायज्ञ गर्न लागेका हौं ।’
कुँवरका अनुसार संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले महायज्ञको साइत जुराएको र डा. बाबुराम रिजाल प्रमुख बाचकका रुपमा रहने आयोजकले बताएको छ । होमहोमादीको नेतृत्व दक्षिणकाली गुरु शैलेन्द्र श्रेष्ठले गर्नेछन् ।
अहिले विभिन्न कोणबाट महायज्ञबारे भ्रम सिर्जाना गर्न खोजिएको भन्दै कुँवरले विशुद्ध देश र जनताको कल्याणलाई केन्द्रमा राखेर महायज्ञ हुन लागेको बताए । मुलुकमा शान्ति, भातृत्व, सुव्यवस्था, सहीष्णुता कायम गर्न सहयोग होस् भन्ने पवित्र उद्देश्य र कामनासहित महायज्ञ गर्न खोजिएको उनको दावी छ ।
महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउबाबाट गर्न निमन्त्रणा गरिए पनि उनीहरूको सहभागिता निश्चित भने भइनसकेको आयोजकले बताएको छ । महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित सबै संवैधानिक निकायका पदाधिकारी र दलका शीर्षस्थ नेतालाई पनि आमन्त्रण गरिएको छ ।
२१ जना ब्राम्हणहरुबाट होम हाल्ने गरी हुने महायज्ञमा कोरोना महामारीको कारण भीडभाड गराउने खालको भजनकीर्तनसहितका कार्यक्रम नराखिएको संयोजक कुँवरले बताए ।
