अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लाग्न लागेको छ । सन् २०२२ को पहिलो महिना जनवरी पहिलो साता कच्चा तेलको मूल्य प्रति ब्यारेल ७९ अमेरिकी डलर थियो । जुन, जनवरी अन्तिममा आइपुग्दा बढेर ९१ डलरभन्दा बढी पुगेको छ ।
यो एक महिनाको अवधिमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३ अमेरिकी डलरले उकालो लागेको क्र्यूडओयल डटकमले जनाएको छ । कच्चा तेलको मूल्य सन् २०२० मा प्रति ब्यारेल २० अमेरिकी डलरसम्म आइपुगेको थियो । उक्त समयमा कोरोना महामारीका कारणले विश्वव्यापी लकडाउन हुँदा मूल्य घटेको थियो ।
तर, पूर्वी युरोपमा रसिया र युक्रेन बीचको तनावका कारण तेलको मूल्यमा पुनः वृद्धि आउन थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ । खाडी मुलुकको कुवामा उत्खनन् गरिने कच्चा तेल किनेर भारतसँग ल्याउँदा ढुवानी खर्च जोडिन्छ । पेट्रोलियम पदार्थको आयातको पूर्ण जिम्मेवारी लिएको नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट तेल किन्दै आएको छ ।
भारतले कच्चा तेल ल्याएर त्यसलाई प्रशोधन गरेपछि बल्ल नेपालतर्फ निर्यात गर्छ । यसरी, कच्चा तेलको ढुवानी लागत र प्रशोधन खर्च जोड्दा प्रति ब्यारेल ९१.३१ अमेरिकी डलरभन्दा बढी हुन आउँछ । जसको खर्च नेपाल आयल निगमले पनि तिर्नुपर्छ । यस हिसाबले पछिल्लो समय निरन्तर बढीरहेको तेलको मूल्य पुनः बढ्ने सम्भावना रहेको निगम स्रोत बताउँछ ।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५÷१५ दिनमा तेलको मूल्यसूची पठाउँछ । अब आउने मूल्यसूची बढेर आउने सम्भावना रहेको निगमले जनाएको छ ।
