१७ माघ, काठमाडौं । व्यवसायिक सम्भाव्यता अध्ययनविना राजनीतिक एजेण्डाका रुपमा अगाडि बढेका पहाडी भेगका दुई विमानस्थल आयोजना भौतिक संरचना निर्माणका दृष्टिकोणबाट सेवा सञ्चालनयोग्य बनेका छन् । इलामको सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालनको मिति नै तय भएको छ भने गुल्मीको रेसुंगा विमानस्थलमा भने विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा छ । वायुसेवा कम्पनी तयार भएको अवस्थामा यो विमानस्थल समेत उडानयोग्य अवस्थामा पुगेको छ । तर, नियमित जहाज उडाउने कसले ?
तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा शुरुआती १२ वटा उडान गर्न इलाम नगरपालिकासँग सम्झौता गरेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार इलाम विमानस्थल तत्काल व्यवसायिक रुपमा सञ्चालनमा आउने सम्भावना छैन । किनकी यहाँबाट दुई घण्टाको सडक यातायातको दुरीमा झापाको भद्रपुरमा ठूलो विमानस्थल छ । जहाँ एटीआर जहाजले यात्रु बोक्छन् । इलाममा ट्वीनअटर जहाज मात्र उड्छन्, जसको क्षमता १८ सीट मात्र हो । भद्रपुरमा ७२/८० सीटे जहाजले यात्रु बोक्दा भाडा तुलनात्मक रुपमा सस्तो पर्छ । इलामका लागि ८७०० रुपैयाँ हवाई भाडा तोकिएको छ । यो विमानस्थल काठमाडौंबाट ५५ मिनेटको उडान दुरीमा पर्छ ।
