काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का नेता गोकर्ण विष्टले पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयत्न गर्ने बताएका छन् । पार्टी विग्रह फुटतर्फ अघि बढेका बेला नेता विष्टले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ मा फर्काउन इमान्दार प्रयत्न गर्ने बताएका हुन् ।
“नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रोतर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।
तर, झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि एमाले एकता बचाउन नसकिने निष्कर्ष नेताहरूले निकालेका छन् । उनीहरूले नयाँ पार्टी दर्ता गरेर संयुक्त संघर्षमा होमिनुपर्ने पनि बताउँदै आएका छन् ।
दोस्रो पुस्ताका नेताहरू भने अझै पार्टी एकता बचाउनुपर्ने बताउँदै आएका छन् । विष्टको अभिव्यक्ति पनि यही कोणबाट आएको हो ।
