काठमाडौं । इंग्लिस प्रिमियर लिगका क्लबले ‘जनवरी ट्रान्सफर विन्डो’मा इतिहासकै दोस्रो उच्च रकम खर्च गरेका छन् । प्रिमियर लिगका क्लबले २९ करोड ५० लाख पाउन्ड खार्च गरे । अन्तिम दिन लन्डन क्लब टोटनहमले सबैभन्दा बढी सक्रिय देखियो ।
अन्तिम दिन भएका १२ ट्रान्सफरले प्रिमियर लिगमा सन् २०१८ पछि क्लबहरूले सबैभन्दा धेरै रकम खर्च गरे । २०१८ मा क्लबहरूले ४३ करोड पाउन्ड खर्च गरेका थिए । यसले क्लबहरू कोभिड–१९ महामारीको चपेटाबाट बाहिरिएको अनुमान गर्न सकिन्छ ।
२०२१ को जनवरी विन्डोमा प्रिमियर लिगका क्लबहरूले सात करोड पाउन्ड मात्र खर्च गरेका थिए । त्यो यसपटक अन्तिम दिनमा भएको भन्दा एक करोड पाउन्ड कम हो ।
टोटनहमले युभेन्टसका दुई खेलाडीलाई मात्र कम्तीमा दुई करोड ४० लाख पाउन्ड खर्च गरेको छ । टोटनहमले इंग्ल्यान्डका मिडफिल्डर डिले अली र टोङ्गुए एनडोम्बेलेलाई बेचेको थियो ।
न्युक्यासलले दुई रक्षक तथा म्यानचेस्टर सिटी र बर्नलीले एक एक स्ट्राइकर भित्र्याउन मात्र एक करोडभन्दा बढी खर्च गरेका छन् ।
पिइरे–इमेरिक औबमेयाङले बार्सिलोना जान आर्सनल छाड्ने भएका छन् । औबमेयाङ फ्री ट्रान्सफरमा बार्सिलोना जान लागेका हुन् । युभेन्टसका आरोन राम्से भने लोनमा स्टकल्यान्डको क्लब रेन्जर्समा अनुबन्ध भएका छन् ।
खर्च भएको आधा रकम झन्डै १५ करोड पाउन्ड त प्रिमियर लिगकै पुछारका पाँच क्लबले खर्च गरेका छन् । एभर्टन, नर्विच सिटी, न्युक्यासल, वाटफोर्ड र बर्नलीले रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन् । गत सिजन पुछारका पाँच क्लबले ५० लाख पाउन्ड मात्र खर्च गरेका थिए ।
जनवरी विन्डोमा भएका मुख्य ट्रान्सफर
डिले अली (टोटनहमबाट एभर्टन)
डन बर्न (ब्राइटनबाट न्युक्यासल युनाइटेड) – एक करोड ३० लाख पाउन्ड
डोनी भान डी विक (म्यानचेस्टर युनाइटेडबाट एभर्टन) – लोनमा
डेजान कुलुसेभस्की (युभेन्टसबाट टोटनहम) – लोनमा (८३ लाख पाउन्डमा, दुई करोड ९२ लाखमा किन्न सक्ने)
रोड्रिगो बेन्टाकुर (युभेन्टसबाट टोटनहम) – एक करोड ५९ लाख पाउन्ड
टोङ्गुए एनडोम्बेले (टोटनहमबाट लियोन) – लोनमा
ब्रेन गिल (टोटनहमबाट भ्यालेन्सिया) – लोनमा
लियोभानी लो सेल्सो (टोटनहमबाट भिल्लारियाल)
युलियन अल्भारेज (रिभर प्लेटबाट म्यानचेस्टर सिटी) – एक करोड ४१ लाख पाउन्ड
वाउट वेगहोस्ट (उल्फस्बर्गबाट बर्ननी) – एक करोड २० लाख पाउन्ड
आरोन राम्से (युभेन्टसबाट रेन्जर्स) – लोनमा
जेन–फिलिप्स माटेटा (मेइन्जबाट क्रिष्टल प्यालेस) – लोनमा
लुक प्लाङ (क्बल डर्बीबाट क्रिस्टल प्यालेस) – लोनमा
लुइस डियाज (पोर्टोबाट लिभरपुल) – तीन करोड ७५ लाख पाउन्ड
ब्रुनो गुइमारेस (लियोनबाट न्युक्यासल) – तीन करोड ५० लाख पाउन्ड
क्रिस उड (बर्नलीबाट न्युक्यासल) – दुई करोड ५० लाख पाउन्ड
किइरन ट्रिपर (एट्लेटिको मड्रिडबाट न्युक्यासल) – एक करोड २० लाख पाउन्ड
फिलिप कौटिन्हो (बार्सिलोनाबाट एस्टन भिल्ला) – लोनमा
एडम ट्राउरे (उल्भरह्याम्पटनबाट बार्सिलोना) – लोनमा
एन्थोनी मार्सियाल (म्यानचेस्टर युनाइटेडबाट सेभिया)
