न्युयोर्क सिटी । यहुदीहरूको आम नरसंहारबारे लेखिएको पुलित्जर पुरुस्कार विजयी उपन्यास अमेजनको उत्कृष्ट बिक्री सूचीको शीर्ष स्थानमा पुग्न सफल भएको छ । हालै मात्र अमेरिकाको टेन्नेसेको एउटा विद्यालयको बोर्डले यस पुस्तकमथि प्रतिबन्ध लगाएको थियो ।
हिटलरको नाजीद्वारा भएको अन्याय अत्याचार सहेर पनि कसरी लेखकका मातापिता अस्क्वीत्जको यातना शिविरबाट बच्न सफल भए भन्ने कथामा आधारित ‘म्याअस : अ सर्भाइभर्स टेल’ नामक यो ग्राफिक उपन्यास हो ।
अमेरिकी विद्यालयको बोर्डका सदस्यहरूले यस पुस्तकमा नाँगा चित्रहरू र आपत्तिजनक शब्दहरू रहेको भन्दै प्रतिबन्धका लागि मतदान गरेका थिए ।
अब यही म्याअसको सम्पूर्ण अध्यायको संग्रह अमेजनको सर्वोत्कृष्ट बिक्री सूचीको पहिलो स्थानमा रहन पुगेको छ । युरोपबाटै यहुदीलाई सफाया गर्ने उक्त नाजी जर्मनीको आम नरसंहार अभियानमा ६० लाख यहुदीले ज्यान गुमाउनु परेको थियो ।
कला लेखक स्पिजलम्यानका पोलिस यहुदी मातापितालाई दोस्रो विश्व युद्धको दौरान नाजी यातना शिविरमा पठाइएको थियो । हातैले चित्र कोरिएको उनको यस उपन्यासमा यहुदीलाई मुसा र नाजीलाई बिरालो इङ्गित गरिएको छ । यस पुस्तकले सन् १९९२ मै थुप्रै साहित्यिक पुरुस्कार जितिसकेको छ ।
