काठमाडौं । नेपाली चलचित्रलाई प्राथमिकता कति दिने भन्ने सन्दर्भमा चलचित्र विकास बोर्डले सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । यही शुक्रबार बोर्डले निर्माण, वितरण र प्रदशर्नका तीनवटै पक्षलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको हो ।
विदेशी सिनेमाको मारमा नेपाली चलचित्र परेको भन्दै चर्को आवाज उठेपछि बोर्डले सरोकारवाला पक्षसँग छलफल गर्न लागेको हो । नेपाली सिनेमाले भन्दा विदेशी चलचित्रले प्राथमिकता दिएको भन्ने टिप्पणी भएपछि कसरी अगाडि बढ्दा सहज हुन्छ भनेर बोर्डले छलफल सुरु गर्न लागेको हो ।
“तीनवटै पक्षलाई छलफल गराएर सहमतिमा पुर्याउने मेरो उद्धेश्य हो,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “निर्माता संघ, चलचित्र संघ, वितरक संघका ५/७ जना पदाधिकारीका दरले बोलाएको छु ।”
छलफल निष्कर्षमा नपुगे पनि समिति बनाएर अगाडि बढ्ने अध्यक्ष दाहालको भनाइ छ । नेपाली सिनेमालाई कसरी प्राथमिकता दिने भन्ने विषयमा सहमति जुटाउन समिति गठन गरेर भए पनि निकासको बाटोतर्फ अगाडि बढ्ने दाहालले जानकारी दिए ।
“अब नेपाली सिनेमालाई प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न उठ्यो । पहिला हिन्दी सिनेमासँग मात्रै प्रतिस्पर्धा थियो । पछि अंग्रेजी सिनेमासँग प्रतिस्पर्धा भयो । अहिले तमिलसमेत थपिए,” अध्यक्ष दाहाल भन्छन्, “भोलि अरु सिनेमा पनि थपिएलान् । विदेशी सिनेमालाई प्रतिबन्ध नै लगाउने भन्ने कुरा अहिले सम्भव छैन । यसका लागि लामो प्रक्रिया छ ।”
नेपालमा चलचित्रको व्यवसाय गर्नेहरुले नेपाली भाषाका चलचित्रलाई प्राथमिकता दिनु पर्नेमा उनको जोड छ ।
