काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ताबापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ताबापतको रकम विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ताबापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ
मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्ताबापतको रकम सहयोग गर्दै आएका छन् । उनले चुनावमा उमेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।
यसैबीच, मन्त्री श्रेष्ठले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाई आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।
