काठमाडौं । नेकपा (एमाले)ले प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि गर्ने निर्णय गरेको प्रचार विभाग उपप्रुमख विष्णु रिजालले जानकारी दिए
त्यस्तै बाँकी रहेका जिल्ला अधिवेशन भने निर्वाचनअघि नै गर्ने निर्णय भएको उनले बताए । बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय भएको रिजालले बताए ।
आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सरकार र आयोग तयार भए पनि सरकारले भने गरेको छैन ।
त्यस्तै बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका पनि पारित गरेको छ ।
बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
