काठमाडौं, २० माघ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले गठबन्धन बनाएर मात्र निर्वाचन जाने भन्ने नीति पार्टीले नलिएको स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “लोकतान्त्रिक समाजवादी पार्टीसँग राष्ट्रिय सभा निर्वाचनमा हामीले सहकार्य गरेका हौं । अरु दल वा व्यक्तिसँग छलफल र वार्ता सुरु भएको छैन । चुनावको घोषणा भएपछि कहीँ कतै क्षेत्र, जिल्ला वा दल विशेषका साना पार्टीसँग तालमेल हुन सक्छ । एमाले एक्लै चुनाव लड्न सक्षम छ ।”
नेता रिजालले सत्ता गठबन्धनले एमसीसीजस्तो आर्थिक एजेन्डालाई राजनीतिक एजेन्डा बनाएको आरोप पनि लगाए । उनले भने, “एमसीसीको मुख्य उद्देश्य बिजुलीको ट्रान्समिसन लाइन र सडक सुधार गर्ने हो । तर यसलाई राजनीतिकरण गरियो । केपी ओलीको सरकारका बेला सभामुखको अनधिकृत क्रियाकलापका कारण अघि बढ्न सकेन । एमाले पहिलो र ठूलो पार्टी हो । तर एमसीसीलाई अघि बढाउने चाबी हाम्रो हातमा छैन ।”
एमसीसीका बारेमा सत्तारुढ गठबन्धनले जनतालाई अन्योलमा राख्नु नहुने उनले स्पष्ट पारे । रिजालले भने, “हाम्रो भनाइ के हो भने सरकारको प्रस्ताव सरकारले पारित गर्नुपर्छ । गठबन्धनसँग बहुमत छ भने पास गराउनुस् । छैन भने एमालेसँग प्रधानमन्त्रीले सहयोग माग्नुपर्यो । लाहुरे भन्दा गुन्टा अगाडि गर्न मिल्दैन ।”
उनले ५ दलीय गठबन्धन हावा भरिएको बेलुन भएको आरोप पनि लगाए । उनले थपे, “गठबन्धनलाई हामीले फुटाउनुपर्दैन । एमसीसीले नै उनीहरुभित्र कम्पन आइरहेको छ ।”
कार्यक्रममा उनले नेपाल—भारत सम्बन्धलाई सहज बनाउन विकास परियोजना समयमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “महाकाली बहुद्देश्यीय परियोजना ७५ वर्षको हो, डीपीआर तयार नभईकन २५ वर्ष बितिसक्यो । काभ्रेमा बन्ने प्रहरी तालिम केन्द्रको त्यही हालत छ ।”
