जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।
कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन्। कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन्। ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ। एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा पुगेकी छन्।
