२० माघ, वीरगञ्ज । बारा प्रहरीले अवैध रुपमा रुख कटान गरी काठ ल्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर-४ पुरानो निजगढ बस्ने ३० वर्षीय राजकुमार चौधरी र एक जना १२ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
७ फिट लम्बाई, ४ ईन्च चौडाई, ३ इन्च मोटाई भएको १६ थान चिरान सालको काठसहित उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
जंगलबाट अवैध रुपमा रुख कटानी गरी ट्याक्टरमा निजगढ-८ खयरघारी ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार ट्याक्टर चालक भने फरार भएका छन् । अन टेस्ट लेखिएको ट्रयाक्टरमा ना ५ त १०७ नम्बरको टेलर जोडेर काठ ल्याउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
