नेपाली सेनाको अवरोध हटेसँगै भक्तपुर नगरपालिका १० हुँदै चाँगुनारायण नगरपालिका ५ छालिङ जाने सडक विस्तारको काम सुरु भएको छ । सडक विस्तारको काम सुरु भएसँगै सो सडकखण्डमा दुर्घटना नहुने र आवतजावतमा सहज हुने स्थानीयहरुको भनाई छ ।
‘जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सडक मापदण्डभित्र पर्ने करिब २ मिटर इँटाको पर्खाल र ४ सय मिटर काँडेतार हटाउन पटक–पटक प्रयास गर्दा पनि सकिएको थिएन, अहिले सेना सहमत भएपछि काम सुरु भएको छ, छालिङ्गका स्थानीय रामहरि थापाले भने ।
संघीय सांसद महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगरप्रमुख र जनप्रतिनिधिहरुको सहयोगले छालिङबासीको दशकौँ पुरानो सपना पुरा भएको थापाको भनाई छ । चाँगुनारायण नगरपालिकाको सडक चौडा गर्ने मापदण्डअनुसार उक्त सडक १२ मिटरको हुनेछ । जसमा सडकको मध्यभागबाट दायाँतर्फ ६ र बायाँतर्फ ६ गरेर १२ मिटरको हुनेछ । करिब ४ मिटर सेनाको पर्खाल सडक मापदण्डमा परेको थियो ।
सैनिक प्रतिष्ठानबाट छालिङतर्फ जादाँ बायाँतर्फ भक्तपुर नगरपालिका वडा नम्बर १० पर्दछ भने दायाँ चाँगुनारायण नगरपालिका वडा नम्बर ५ पर्दछ । चाँगुको वडा नम्बर ५ तर्फ भने नेपाली सेनाको प्रतिष्ठानको सुरक्षा पर्खाल छ । करिब ५० वटा रुख, काँडेतार र इँटाको पर्खाल सेनाको जमिनतर्फ पर्दछ ।
हाल कायम रहेको पर्खालभित्र अर्को लगाउने काम सुरु भएको छ । त्यो पूर्ण भइसकेपछि मात्र हालको पर्खाल भत्काउने सहमति सेनासँग भएको नगरपालिका स्रोतले जानकारी दिएको छ । वन कार्यालयसँग समन्वय गरेर रुख काट्ने काम हुने नगरपालिकाले जानकारी दिएको छ ।
वर्षौदेखि गाउँ जाने बाटो विस्तार गर्न सेनाले रोकावट गर्दा सडक साँघुरो भएर दुर्घटना समेत हुने गरेको स्थानीयहरुको भनाइ छ । चाँगुनारायण नगरपालिकाले सडक विस्तारका लागि सैनिक प्रतिष्ठान, सैनिक मुख्यालय हुँदै रक्षा मन्त्रालयसम्म पटक–पटक पत्राचार गरेको थियो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भने–‘अझै पनि सेना विकासको काममा सकारात्मक देखिएन, कहिले सामान त कहिले मजदुर फर्काइदियो ।’ आफु निर्वाचित भए देखिनै गर्दै आएको प्रयास बल्ल सार्थकता पाउला कि जस्तो भएको उनको भनाई छ ।
सडक विस्तारको काम गर्न नदिने हो भने ५ सय स्थानीय ल्याएर ब्यारेक घेर्छु समेत भन्नुपरेको नगरप्रमुख मिश्रले बताए ।
सेनाको सुरक्षा पर्खाल नगरपालिकाले बनाइदिने
ब्यारेक–छालिङ्ग सडक खण्ड घुमाउरो र साँघुरो सडकमा दैनिकजसो सवारी साधन दुर्घटना हुने गरेको थियो । हाल नगरपालिकाको सहयोगमा सडक विस्तार भएको उपभोक्ता समितिका अध्यक्ष राजकुमार दुवालले बताए । केही समयअघि मात्र उक्त सडक खण्डमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको थियो ।
भक्तपुर नगरपालिका तर्फका जग्गाधनीहरू सडक विस्तारका लागि सकारात्मक भएपनि सेनाले नमान्दा लामो समयदेखि काम हुन सकेको थिएन । नगरपालिकाले उपभोक्ता समिति मार्फत पहिलो र दोस्रो चरण गरेर बजेट निकासा गरि सेनाको सुरक्षा पर्खाल बनाइदिने काम गरिरहेको छ । ७ सय ३५ मिटर लम्बाई रहेको पर्खालको उचाई ८ फुट र मोटाई ९ इन्चको हुनेछ । त्यसका लागि करिब १ करोड लाग्ने अनुमान गरिएको छ ।
उपभोक्ताको जन श्रमदानसहित पहिलो चरणमा १९ लाख ८२ हजार ३ सय १० रूपैँया र दोस्रो चरणमा पनि सोही बराबरको रकम निकासा हुने नगरप्रमुख मिश्रले जानकारी दिए । छालिङ्गबाट ब्यारेकतर्फ भने उपत्यका विकास प्राधिकरणबाट विनियोजित बजेटबाट सडक विस्तारको काम भइरहेको छ ।
