काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् ।
उनीहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् । यसअघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन ।
बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताए । उनले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका खेल्ने विश्वास गरे ।
सात महिना वितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
