दाङबाट पौने तीन लाख रकमसहित आठ जुवाडे पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय निराजन मल्ल, ४० वर्षीय प्रमोदकुमार खड्का, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका वडा नं. ४ का ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ३० वर्षीय राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ वर्षीय ध्रुब शाह र छिमेकी देश भारतको बिहार घर भई हाल शान्तिनगर गाउँपालिका वडा नं. ५ बस्दै आएका ३५ बर्षीय हजरत अली रहेका छन्।
पक्राउ पर्ने अधिकांश कांग्रेसका नेता हुन्। त्यसमा एक जना वडा सदस्य पनि छन्।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित निराजन मल्लको घरमा जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरकाबाट प्रहरी निरीक्षक नबिन चुदालीको नेतृत्वमा गएको प्रहरी टोलीले बुधबार बेलुका उनीहरूलाई पक्राउ गरेको थियो।
तर, प्रहरीले बिहीबार चार दिन म्याद थप भएपछि मात्रै जुवाडेको खबर सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँ र तास खेल्न प्रयोग भएको तासको गड्डी बरामद भएको प्रहरीले जनाएको छ।
