पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ । अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो ।
पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पती यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले सम्पती बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ ।
