काठमाडौं । विश्व क्यान्सर दिवसका लागि यसवर्ष तय गरिएको नारा हो, ‘क्लोज द केयर ग्याप’ । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष रोगको विश्वव्यापी अवस्थालाई हेरेर नारा तय गर्छ । यस वर्षको नाराले क्यान्सरको उपचारमा सबै मुलुकहरुको समान पहुँच हुनुपर्छ कुरालाई जोड दिएको छ ।
के हो क्लोज द केयर ग्यापको अवधारणा ?
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वभर २० लाख मानिसमा क्यान्सर पहिचान भएको छ भने १० लाखको ज्यान गएको छ । र, यो संख्या बढ्दो क्रममा छ । संगठनका अनुसार क्यान्सरको उपचारमा प्रयोग हुने सबै उपचार पद्धती ९० प्रतिशत उच्च आय भएका मुलुकहरुमा उपलब्ध छ भने न्यून आय भएका १५ प्रतिशत मुलुकमा पनि उपलब्ध छैन । त्यस्तै बालबालिकामा हुने क्यान्सरको पहिचान र उपचार ८० प्रतिशत उच्च आय भएका मुलुकमा सम्भव छ भने ३० प्रतिशत मात्रै न्यून आय भएका मुलुकहरुमा सम्भव छ । क्यान्सरको पहिचान र उपचारमा धनी र गरीब राष्ट्रहरुबीच भएको यही अन्तरलाई न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनले क्लोजिङ द केयर ग्याप भन्ने नारा तय गरेको जनाएको छ ।
नेपालमा क्यान्सर उपचारमा नागरिकको पहुँच कति ?
विश्व स्वास्थ्य संगठनको नेपालमा क्यान्सरबारे अनुसन्धान गर्ने संस्था ग्लोबोक्यानका अनुसार सन् २०२० मा मात्रै नेपालमा २० हजार ५०८ जना क्यान्सरका बिरामी थपिएका छन् भने १३ हजार ६३० जनाको क्यान्सरका कारण मृत्यु भएको छ । ६६ प्रतिशत क्यान्सरका बिरामीको समयमा उपचार नपाएरै मृत्यु हुने गरेको ग्लोबोक्यानको रिपोर्टमा उल्लेख छ ।
काठमाडौं उपत्यकासहित देशका ठूला सहरहरुमा क्यान्सरको उपचार सहज भए पनि दूर दराजमा स्क्रिनिङसम्मको व्यवस्था नहुँदा उपचार सहज छैन । त्यसमाथि कतिपय जिल्लास्तरका अस्पतालहरुमा क्यान्सर रोग विशेषज्ञको दरबन्दी र परीक्षणका लागि उपकरण नै नहुनु अर्को चुनौती बनेको छ क्यान्सरको पहिचान र उपचारमा । नेपाल अर्बुद रोग निवारण संस्थामार्फत उपचारका लागि प्रतिवर्ष दुई सयभन्दा बढी नागरिकलाई क्यान्सरका बिरामी भारत जाने प्रक्रिया अघि बढाएको पाइन्छ । उपचारका लागि अस्पतालले रिफर गरेकाभन्दा आफ्नै इच्छामा भारत जान चाहने धेरै छन् । यसको अर्थ नेपालमा कम खर्चमा राम्रो उपचार सेवा पाइन्छ भन्ने जानकारी अझै नागरिकमा पुगिसकेको छैन ।
यसरी देशका सबै स्थानमा समान उपचारको पहुँच नहुँदा धेरै क्यान्सरका विरामीले बीचमै उपचार छोड्नुपर्ने बाध्यता रहेको बताउँछिन् बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डित । क्यान्सर लागेका ९० प्रतिशतसम्म बालबालिकालाई बचाउन सकिन्छ । उनीहरुमा अन्य रोग छैन भने वयस्कभन्दा छिटो निको हुन्छन् तर टाढा घर भएका अभिभावकलाई काठमाडौंमा बसेर उपचार गराउन समस्या हुन्छ । घर पठाउँदा उपचार छुट्ने र क्यान्सर झन जटिल बन्ने सम्भावना हुन्छ । यस्तो समस्या प्रत्येक अस्पतालमा आउने बिरामीमा देखिएको छ डा. पण्डित सुनाउँछिन् । यो समस्या समाधानका लागि सरकारले क्लोज द केयर ग्यापको अवधारणालाई आत्मसात गर्नुपर्नेमा उनको जोड छ ।
उपचारमा आर्थिक अभावः क्यान्सरको अर्को चुनौती
सरकारले क्यान्सरको उपचारका लागि सम्बन्धित स्थानीय निकायको सिफारिसमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च छुट दिँदै आएको छ । सहुलियतको उपचार सेवाका लागि सरकारले सबै सरकारी क्यान्सर अस्पतालसहित मुलुकभरका एक सयभन्दा बढी अस्पताल तोकेको छ । तर, कुनै पनि प्रकारको क्यान्सर भएका बिरामीका लागि सरकारले प्रदान गर्ने यो सहुलियत अत्यन्तै न्यून भएको विशेषज्ञहरु बताउँछन् । “सरकारले दिने सहुलियत उपचारको दायरा बढाउनुपर्छ । ताकी यसले सबै बिरामी उपचारका पहुँचमा आइपुगुन्,” मेडिकल अंकोलोष्टि डा. अरुण शाही भन्छन्, “पाटन अस्पतालमा हामीले म्याक्स फाउन्डेसनको सहयोगमा विभिन्न आठ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएका छौं । त ती औषधि फोक्सो, मिर्गौलालगायत क्यान्सरको उपचारमा प्रयोग हुन्छन् । यी औषधिको मूल्यमात्रै डेढ लाखभन्दा बढी पर्नजान्छ भने शल्यक्रिया र विभिन्न उपचारमा कति खर्च हुन्छ भन्ने कुरा सरकारले सोच्नुपर्ने विषय हो । र, त्यसकै आधारमा उपचार सेवा सर्वसुलभ बनाउनुपर्ने हो ।”
