एजेन्सी । चीन नेटोको थप विस्तार विरुद्ध रुससँग उभिएको छ । दुई देशले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेटोलाई आफ्नो विस्तार रोक्न आह्वान गरेका हुन् ।
यसैबीच, मस्कोले ताइवानबारे बेइजिङको अडानलाई पूर्ण रूपमा समर्थन गरेको छ । उसले कुनै पनि प्रकारको ताइवानी स्वतन्त्रताको विरोध गरेको बताएको छ ।
मस्को र बेइजिङले शीतकालीन ओलम्पिकका लागि रुसका राष्ट्रपति भ्लादमिर पुटिनको भ्रमणको क्रममा थुप्रै मुद्दाहरूमा सहमति जनाउँदै विज्ञप्ति निकालेका हुन् ।
पश्चिमा देशको दबावको सामना गर्न दुई देश थप नजिकिएका छन् ।
रुसको युक्रेन र चीनको ताइवानसँग तनाव बढिरहेका बेला यस्तो वक्तव्य आएको हो ।
रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी जिनपिङले शीतकालीन ओलम्पिक खेलहरूको उद्घाटन समारोहअघि वार्ता गरेका हुन् ।
क्रेमलिनले नेताहरूबीचको वार्ता ‘धेरै न्यानो’ र रचनात्मक भएको बताएको छ । “सहयोगका लागि कुनै क्षेत्र पनि निषेधित छैनन्,” क्रेमलिनको विज्ञप्तिमा भनिएको छ ।
दुई नेता चीन र रुस रणनीतिक सहयोगलाई अझ बढाउन प्रतिवद्ध रहेको बताइएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सीले यसलाई चीन, रुस र विश्वमा दूरगामी प्रभाव पार्ने रणनीतिक निर्णय भएको बताएको जनाएको छ ।
