काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो ।
कम्पनीले अघिल्लो एकै महिनामा थप दुईथान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लोपटक ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन् ।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले पाँचवटा जहाज भित्र्याउने योजनाअन्तर्गत ८० सिट क्षमताका समान तीन जहाजमध्ये दुईवटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । ततपश्चात् अन्य दुईजहाजको पनि खरिद प्रक्रिया अघि बढाइनेछ ।
“हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजनाअनुरूप पाँचवटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौँ । अनुमति मागेको मध्ये तीनवटा जहाज खरिद भइसकेको छ । दुईथान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउँदै छौँ,” प्रबन्धक मानन्धरले बताए ।
हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ ।
सुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगन्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ ।
श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुईवटा तथा सीआरजे २०० (५० सिटे) दुईथान र सीआरजे ७०० (७० सिटे) दुईथान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।
