काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले अमेरिकी मिडियामा लेख लेखेर राष्ट्रपति जो बाइडेनसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
उनले अमेरिकी सहप्राध्यापक डन्कन मारुसँगै त्यहाँको एक मिडियामार्फत अमेरिकासँग स्टकमा रहेको एक करोड २० लाख खोप नेपाललाई उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
“अमेरिकामा पनि थुप्रै नेपालीले नेपाललाई खोप दिनुपर्छ भनेर लबि गरिरहेका छन्,” थापाले लेखको बारेमा प्रष्ट्याउँदै बाह्रखरीसँग भने, “केहीदिन अघि त्यहाँका सिनेटरसँगको छलफलमा मैले पनि भाग लिएको थिएँ । त्यसबेला पनि मैले नेपालमा कोभिडविरुद्धको लडाइँमा सत्ता र प्रतिपक्ष छैन भन्ने जानकारी गराएको थिएँ । त्यहाँ पछिल्लो समयमा नेपाललाई भ्याक्सिन दियो भने वितरण गर्न सक्दैन भन्ने विचार पनि राखेको पाइयो । अमेरिकी नीति निर्मातासम्म हामीलाई भ्याक्सिन चाहिएको पनि छ यसलाई भण्डारण र वितरण गर्न सक्ने क्षमता हामीसँग छ भनेर मैले लेखमार्फत प्रष्ट पार्न चाहेको हुँ । कतिले गरिब देश भएकाले गर्न सक्दैन कि भनेर प्रश्न उठाएका छन् ।”
उनीहरुलाई पनि हामी सक्छौँ भनेर सन्देश दिन जरुरी रहेको थापाले बताए ।
