धनगढीस्थित अस्पतालले बिरामीलाई भर्ना गर्न नमान्दा १ बिरामीले ज्यान गुमाएका छन् ।
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो ।
मृतकका आफन्त हेमराज भट्टका अनुसार बिरामीलाई बुधवार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्याइएको थियो तर ४ घण्टासम्म कुनै वास्ता नगरिएपछि घरै लगिएको थियो ।
भट्टले भने, ‘माया मेट्रो अस्पतालमा ४ घण्टा राख्दा कसैले केही वास्ता गरेनन् । अरु ठाउँ लैजाने विकल्प पनि भएन अनि बाध्य भएर घर ल्याउँदा घर पुग्ने बित्तिकै ज्यान गयो ।
श्वासप्रश्वासमा समस्या देखिएकाले भेन्टिलेटरमा राख्नुपर्ने भएको तर कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा काकाको मृत्यु भएको उनले दुःखेसो पोखे ।
उनका अनुसार धनगढीमा भेन्टिलेटरको सुविधा रहेको अर्को निजी अस्पताल निसर्गका सञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएको थियो ।
केही निजी अस्पतालले भेन्टिलेटर खाली नभएको बताए भने केही अस्पतालले चिकित्सक नै नभएको भन्दै भर्ना गर्न मानेनन् । सेती प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि मृतकलाई माया मेट्रोमै लगिएको थियो ।
