नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “एमसीसी विशुद्ध रुपमा विकास परियोजना हो । तर यो नेपाली कांग्रेसको मात्र इस्यु होइन । संसदमा एक्लै अनुमोदन गर्न पनि सक्दैन । राष्ट्रिय सवालमा प्रतिपक्षसहित राष्ट्रिय दलहरु एकमत नभईकन पारित गर्न सकिने स्थिति छैन ।”
एमसीसीका सवालमा दलहरु गैरजिम्मेवार बन्न नहुने मन्त्री रेग्मीले औंल्याइन् । उनले थपिन्, “एमसीसी विकासका लागि निकै राम्रो परियोजना हो । नेपालमा उत्पादित विद्युत्ले बजार पाएन भने त्यसै खेर जान्छ । मुलुक चलाउनका लागि वैदेशिक सहयोग जरुरी हुन्छ । त्यो सहयोग कटौती भयो भने मुलुक कसरी चल्छ ? यसमा प्रतिपक्ष पनि जिम्मेवार भएर हाउस खोलिदिनुपर्यो । यो मुलुकका लागि महत्त्वपूर्ण प्रोजेक्ट हो । यसलाई प्रतिष्ठाको इस्यु बनाउनु जरुरी छैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई लेखेको पत्रबारे निकै आलोचना भइरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “यसमा आलोचना हुनुपर्ने त्यस्तो कुनै कारण छैन । एमसीबाट इन्क्वायरी आएपछि सरकारले मौन बस्न मिल्दैन । किनभने सरकारको नेतृत्व उहाँले नै गरिरहनुभएको छ ।”
प्रधानमन्त्रीले जसरी पनि पास गर्छु नभनेको उनको दाबी छ । मन्त्री रेग्मीले भनिन्, “एउटा कुरा प्रधानमन्त्रीले जसरी पनि पास गर्ने भन्नुभएको होइन, सहमति जुटाएर गर्छु भन्नुभएको हो । अमेरिका र अरु दललाई सहमत गराउन खोज्नु उहाँको दायित्व हो । प्रधानमन्त्रीले किन बेठीक गर्नुहुन्छ र ?”
एमसीसीबारे कांग्रेस पार्टीभित्र कुनै विमति नरहेको दाबी उनले गरिन् ।
