२४ माघ, काठमाडौं । अष्ट्रेलियाले कोभिडको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई फेब्रुअरी २१ देखि प्रवेश गर्न दिने भएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेब्रुअरी २१ गतेदेखि कोभिडको पूर्णखोप लगाएका विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेका हुन् ।
‘हामीले अष्ट्रेलियातर्फ आउने सीमा बन्द गरेको झण्डै दुई वर्ष भइसकेको छ’, सोमबार मिडिया ब्रिफिङ गर्दै मोरिसनले भने, ‘यदि तपाईंले दुई पटक खोप लगाउनु भएको छ भने हामी तपाईंलाई अष्ट्रेलियामा स्वागत गर्ने प्रतिक्षामा छौं ।‘
यसअघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरिसकेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघले मोरिसनको पछिल्लो घोषणालाई स्वागत गरेको अलजजिराले जनाएको छ ।
