१४ जेठ, काठमाडौं । केही वर्ष अगाडिसम्म नेपालमा कुनै राजनीतिक घटना हुनासाथ भारतीय विदेश मन्त्रालयले तत्कालै औपचारिक प्रतिक्रिया जनाइहाल्थ्यो । अर्थात्, नेपालको घटनाक्रममा बोल्न उसलाई मिडियाको प्रश्न र जिज्ञासा आवश्यक पर्दैन’थ्यो ।
नेपालमा ठूलो राजनीतिक घटना हुनासाथ विज्ञप्ति आइहाल्थ्यो । तर, विशेषगरी २०७४ सालको स्थानीय निर्वाचनपछि भारतले आफ्नो त्यो नीतिमा परिवर्तन गरेको छ । अहिले नेपालमा कुनै राजनीतिक उथलपुथल हुनासाथ भारत तत्कालै बोल्दैन ।
भारतले औपचारिक प्रतिक्रिया जनाउन छोडेपछि अन्य मुलुकले पनि नेपालको आन्तरिक मामिलाबारे बोल्न छाडेका छन् ।
आजकल उसको प्रतिक्रिया केही दिनपछि मात्रै आउँछ, त्यो पनि स्व:स्फूर्त होइन, पत्रकारहरूले बारम्बार प्रतिक्रिया जनाउन ताकेता गरेपछि मात्रै । पुस ५ मा पहिलोपटक प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा पनि भारत तत्कालै बोलेन ।
