काठमाडौं । कहिले विदेशी चलचित्र त कहिले कोरोना महामारीले सारिएको नेपाली चलचित्रको रिलिज मिति एकपछि अर्को गर्दै तय भइरहेका छन् ।
सरकारले आउँदो फागुन १ गतेदेखि सिनेमा हललगायत क्षेत्रका प्रतिबन्धहरू हटाउने निर्णय गरेसँगै निर्माताहरूले आफ्ना चलचित्र रिलिज गर्ने घोषणा गरिरहेका छन् । ओमिक्रोनको संक्रमण बढेसँगै हलमा प्रदर्शन हुँदाहुँदै रोकिएको ‘चपली हाइट ३’ को पनि नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ ।
निर्माण टिमले मंगलबार विज्ञप्ति जारी गर्दै चलचित्रको रिलिज मिति यही फागुन १ गतेका लागि तय गरेको छ । अर्थात्, चलचित्र फागुनदेखि पुनः प्रदर्शन हुनेछ ।
अर्जुन कुमारको निर्माण र उनकै ब्यानरमा बनेको चलचित्र गएको पुस ३० देखि प्रदर्शनमा आएको थियो । तर, तीन दिनपछि नै प्रदर्शन स्थगित गरिएको थियो ।
निकेश खड्काको निर्देशन रहेको क्राइम थ्रिलर चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकारहरूको अभिनय छ ।
यसअघि, यो चलचिको रिलिज मिति माघ १९ गतेका तोकिएको थियो । कोरोना संक्रमणका कारण सरकारले हलहरू बन्द गर्ने निर्णय गरेपछि स्थगित भएको थियो । पूजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेको यो चलचित्रको निर्देशन सुदर्शन थापाले गरेका हुन् ।
चलचित्र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतको मिति पहिले नै ‘लक’ गरिसकेको छ । सेप्टेम्बर १० मा नै यसका निर्देशक मुकुन्द भट्टले चलचित्र फागुन १३ गते वर्ल्डवाइड रिलिज गर्ने घोषणा गरेका थिए ।
मुकुन्द भट्टकै निर्माण र निर्देशनमा बनेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, मुकुन्द भट्ट, सरीता गिरीलगायत कलाकारहरू छन् ।
अर्को नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को रिलिज मिति पनि पोस्टपोन्ड हुँदै नयाँ मिति तोकिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार यो चलचित्र अब असार ३ गते रिलिज हुनेछ ।
यसअघि, वैशाख ३० गते प्रदर्शन हुने भनिएको चलचित्र स्थानीय तह निर्वाचनका कारण सारिएको हो । सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले नयाँ प्रदर्शन मिति तय गरेको हो ।
खनालकै लेखन र निर्देशन रहेको चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । शर्मिला पाण्डेको निर्माण रहेको छ ।
