अधिकांश महिला पिसाब नलीको संक्रमण वा युटीआई(युरिनरी ट्रयाक इन्फेक्सन) बाट पीडित छन्। यी केही बानीले तपाईंलाई युटीआईबाट टाढा राख्न सहयोग गर्छ।
पिसाब संक्रमण वा युटीआई पिसाब नलीमा ब्याक्टेरियाको कारणले हुने संक्रमण हो। यस संक्रमणका लक्षणहरूमा पिसाब पोल्ने, पेटको तल्लो भागमा दुख्ने, चिलाउने, पटक-पटक पिसाब लाग्ने आदि पर्दछन्।
सामान्य जीवनमा हुने साना गल्तीले नै यो संक्रमण हुन्छ। त्यसैले केही राम्रा बानीहरू अपनाएमा यस समस्याबाट बच्न सकिन्छ।
१. धेरैभन्दा धेरै पानी पिउने बानी बसाल्नुहोस्। शरीरमा पानीको मात्र कम हुँदा पिसाबथैलीमा पनि असर पर्छ।
२. दिनदिनै अन्डरवेयर परिवर्तन गर्नुहोस्। अन्डरवेयर नफेरी लगातार धेरै दिन एउटै लगाउँदा ब्याक्टेरिया बढ्छ र मुत्र नलीमा संक्रमण हुन सक्छ।
३. सधैं यौनसम्पर्क गरेपछि तुरुन्तै पिसाब फेर्नुहोस्। यसबाट संक्रमणको अलिकति पनि जोखिम भएमा बच्न सकिन्छ।
४. पिसाब लामो समयसम्म नरोक्नुहोस्।
५. इन्टिमेट हाइजिनका लागि बनेका उत्पादनमा रसायन हुन्छन् जसले तपाईंको योनीको पीएच स्तरलाई बिगार्न सक्छ। डाक्टरको सल्लाह बिना यस्तो उत्पादन कहिल्यै प्रयोग नगर्नुहोस्।
६. पिसाब गरेपछि हल्का पानीले छाला सफा गर्ने बानी बसाल्नुहोस्।
७. योनी नजिकको छालालाई अगाडिबाट पछाडि सफा गर्नुहोस्, पछाडिबाट अगाडि गर्दा संक्रमणको सम्भावना उच्च रहन्छ।
