गीतकार विपिन किरणले केही दिनअघि आफ्नो चर्चित गजललाई रचना रिमालको स्वरमा रि-रेकर्डिङ गरेर सार्वजनिक गरेका थिए । नयाँ भर्सन सार्वजनिक भएसँगै रचनाको स्वरलाई अञ्जुको स्वरसँग तुलना गर्नुका साथै ओरिजनल गायक-गायिकाको नाम उल्लेख नभएकोमा निकै आलोचना भएको थियो । गायिका अञ्जु पन्तले पनि फेसबुकमा स्टाटस लेख्दै दुःख लागेको बताएकी थिइन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘न बिर्सें तिमीलाई’ गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद । मानिसबाट कहिलेकाहीं जान अञ्जानमा भूल हुन्छ, यस्तै भूलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले । विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता-दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईंको कदम प्रशंसनीय छ ।’
उनले भविष्यमा सबै मिलेर नेपाली गीत-संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्ने र गर्ने बताएकी छन् । उनले गायिका रचना रिमाललाई धेरै माया र आशीर्वाद समेत भनेकी छन् ।
