काठमाडौं । ‘अतिथिको स्वागत गर्ने काम हो’ भनेर साउदी पुगेका युवाहरु अहिले त्यहाँ ट्वाइलेट सफा गर्न बाध्य छन् । ट्वाइलेट सफा गर्ने काम गर्नै हुँदैन त हामी पनि भन्दैनौं तर, जे कामका लागि पठाउने हो, त्यही जानकारी म्यान पावरले किन दिएन ?
होटल रुम अटेन्डेन्टको काम भनेर साउदी पठाउने पिजन एचआर सोलुसन म्यानपावर कम्पनीले गरेको यो बेइमानीका कारण पीडित युवाका अभिभावकहरुले समेत हैरान खेपिरहेका छन् । १० दिनदेखि ‘छोराको उद्दार गरिदिनु प¥यो हजुर’ भन्दै कार्यालय–कार्यालय धाइरहेका छन् ती युवाका अभिभावकहरु । तर यिनीहरुको गुनासो कसैले सुनिदिएन ।

हजारौं नेपाली युवाको कथा व्यथामा मिसिन आइपुगेको अर्को यो कथा कस्तो छ त ? यिनी हुन् झापा कचनाकवल गाउँपालिका २ का चन्द्र शंकर अधिकारी । गत मंसिर २९ गते यिनका २८ वर्षीय छोरा धर्मराज अधिकारी वैदेशिक रोजगारीका लागि भन्दै साउदी उडे ।
साउदीमा धर्मराजले होटल रुम अटेन्डेन्ट अर्थात् होटेलमा आउने पाहुनाको स्वागत सत्कारको काम गर्नुपर्ने भनिएको थियो । काठमाडौँको बसुन्धरास्थित पिजन एचआर सोलुशन म्यानपावर कम्पनीबाट धर्मराज साउदी उडेका थिए ।
आर्थिक अभावले थलिएको अधिकारीको परिवारमा छोराले विदेशमा राम्रो कमाई गरे सिंगो परिवारको जीवनस्तर उकासिने अपेक्षा थियो । तर, जब चन्द्रशंकरका छोरा साउदी पुगे तब परिस्थीति सोचे भन्दा फरक भइदियो । धर्मराजलाई पाहुनाको सत्कारमा होइन शौचालय र ढल सफा गर्ने काममा लगाइएको रहेछ ।

शौचालय र ढल सफा गर्ने काममा लगाएर म्यानपावर कम्पनीले झुक्याएपछि धर्मराजले भिडियोमार्फत् आफ्नो परिवारलाई जानकारी दिएका थिए । पाहुना सत्कार भनेर ढल सफा गर्ने काममा धकलेपछि म्यानपावरविरुद्ध चन्द्रशंकर दुःखी भए ।
छोरो फर्काउन भन्दै चन्द्रशंकर १० दिनदेखि काठमाडौंमा यता उता गर्दै भौतारिरहेका छन् । तर छोरो फर्किने टुंगो लागेको छैन । यसबीच उनले म्यानपावर कम्पनीलाई छोरालाई फर्काइदिन बारम्बार आग्रह गरे ।
म्यानपावर कम्पनीले आलटाले जवाफ दिएपछि उनले त्यसविरुद्ध वैदेशिक रोजगार विभागमा समेत उजुरी गरे । तर, हालसम्म उनका छोराको उद्दारका लागि कतैबाट पहल भएको छैन् ।
सरोकारवाला निकाय धाउँदा धाउँदा हैरान भएका चन्द्र शंकर झिनो आशा बोकेर हाम्रो कार्यालयमा आए । र, आफ्नो छोराको उद्दारका लागि पहल गरिदिन आग्रह गरे ।
खगेन्द्र प्रसाद राजवंशीका भाई २६ वर्षीय सुरेन्द्र कुमार राजवंशीको भोगाई पनि उस्तै छ । खगेन्द्रका भाई सुरेन्द्र र धर्मराज एउटै कामका लागि एकै दिन साउदी उडेका थिए । यी दुबै जना अहिले अश्ला रियल स्टेट कम्पनीमा शौचालय सरसफाईको काम गर्न बाध्य छन् ।
पीडितहरुले साउदी जान विश्वास खड्का नाम गरेका एजेण्टलाई १ लाख ७० हजारका दरले रकम बुझाएका छन् । उनीहरुले राम्रो काम दिलाउने प्रलोभनमा बैंकमार्फत विश्वास खड्कालाई रकम बुझाएका हुन् । तर, अहिले पीडितहरुले बारम्बार फोन गरेर आफ्नो समस्या सुनाउँदा पनि उनी र म्यानपावर कम्पनीले कुनै चासो नै दिएका छैनन् ।
श्रम मन्त्रालय सुन्दैन पीडितको गुहार
पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ वैदेशिक रोजगारीको क्षेत्रमा मौलाउँदै गरेको वेथिती रोक्न लागिपरेको भन्ने समाचार सुनेर आफूहरु पनि मन्त्रीलाई आफ्नो समस्या सुनाउँन झापाबाट काठमाडौँँसम्म आएको बताउँछन् । तर, अपेक्षा गरेअनुरुप मन्त्रीबाट समेत सहयोग नपाएको दुखोसो पीडितका आफन्तको छ ।
उनीहरुले मन्त्रालयद्धारा गठित मार्शल टिमलाई समेत आफ्नो समस्या सुनाएपनि चितबुझ्दो प्रतिक्रिया नपाएको गुनासो पोखे । जब कि पीडितहरु श्रम स्विीकृती लिएर नै वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।
के भन्छ म्यानपावर कम्पनी ?
पीडितहरुको गुनसो सुनेपछि हाम्रो टिमले पिजन एचआर सोलुशन म्यानपावर कम्पनीलाई सम्पर्क ग¥यो । म्यानपावरका सञ्चालकको विष्णु सापकोटाले आफूले पठाएका मध्ये यी दुई जनाको मात्रै समस्या देखिएको बताए ।
अब छिट्टै उनीहरुको समस्या समाधान गर्ने उनको भनाई छ । यत, पीडितका आफन्तले साउदी पु¥याउँने झापा दमक नगरपालिकाका ३२ वर्षीय विश्वास खड्का र म्यानपावरमा कार्यरत बिष्णु सापकोटाविरुद्ध उजुरी दिएका छन् ।
