काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कोमा र भेन्टिलेटरमा पुगेको बताएका छन्। उनले सरकार बनेको सात महिना देशको महत्वपूर्ण समय बर्बाद भएको भन्दै कतिपय कुराहरु यो सात महिनामा पछाडि फर्केको बताए। ‘व्यवस्थापिका संसद चलेको छैन। विरोधका बीच तानाशाही अधिनायकवादी पेलानका साथ, भत्ता पचाउने हिसाबले मात्रै संसद अस्तित्वमा छ’, ओलीले भने, ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ।’
उनले आफुहरु संसदका बैठकमा सहभागी हुने वातावरण बनाउ भनेर भनिरहे पनि नसुनेको बताए। ‘पार्टी फोड्ने कार्यमा सभामुख सहभागी हुन्छन्। मोर्चाबन्दीमा सामेल हुन्छन्। र हाम्रा बिरुद्ध मुद्दा चलाउन अदालत जान्छन्। यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ। संसदलाई निष्प्रभावी बनाएर राखिरहने। संसद कोमा र भेन्टिलेटरमा छ। अग्रगमनकारी संसदलाई निरर्थक बनाएर राख्नुभएको छ’, ओलीको भनाइ छ।
