काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसी नेपालको विकासका लागि आएको अनुदान भएको भन्दै यसबारे छिट्टै निकास दिनुपर्ने बताएका छन्। कोइरालाले एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत् यथाशिघ्र निकास दिनुपर्ने बताएका हुन्।
‘अहिले विश्वले नै कौतुहलतापूर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन। यो विषय निकै माथि उठिसक्यो। यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ,’ केन्द्रीय कार्यसम्पादन बैठकमा बोल्दै कोइरालाले भने, ‘यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ। नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ।’
उनले एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लैजान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, कांग्रेस र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने बताए। पार्टीका हरेक संरचनालाई बिना भेद्भाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रियाबमोजिम पूर्णता दिनुपर्ने उनको माग छ।
कोइरालाले कार्यसम्पादन समिति बैठकमा राखेको मन्तव्यको सम्पादित अंश:
आदरणीय सभापतिज्यु, पदाधिकारीहरु तथा केन्द्रिय कार्य सम्पादन समितिका साथीहरु,
महाधिबेशन सके लगत्तै हामी चुनावी बर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टी भित्रको एकता, सद्भाव र साथीहरुको न्यायोचित ब्यबस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घर भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथी उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको बिकल्प छैन । सभापतिज्युले केन्द्रदेखी वडासम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पुर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रकृया बमोजिम पुर्णता दिन आग्रह गर्दछु । मैले यो विषयलाई यस कारण प्रारम्भ मै राखेको हुँ, की पार्टीको केन्द्रिय समितिमा मनोनयन तथा केन्द्रिय कार्य सम्पादन समिति गठन गर्दा सभापतिज्युबाट कति न्याय र विवेक अपनाईयो भन्ने विषय बहसमै छ । मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पुर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । यसकारण सभापतिज्युले सानातिना कुरा बाट माथी उठेर न्यायोचित र सम्मानजनक निर्णय गर्नुहुन्छ भन्ने बिश्वास लिएको छु ।
१. हाम्रा भातृ तथा शुभेच्छुक संस्था भनेका पार्टीका शक्ति हुन । आम समुदायलाई पार्टीको मुलधारसँग जोड्ने प्रमुख माध्यम हुन । त्यसकारण बिधि, बिधान र लोकतान्त्रिक प्रकिया बाटै यि संस्थाहरुको नेतृत्व चयन हुनुपर्छ । अहिले कतिपय भातृ संस्थाका सभापतिहरु केन्द्रिय समितिमा हुनुहुन्छ । बिधानतः यि संस्थाहरु नेतृत्व बिहिन छन । कतिपय भातृ र शुभेच्छुक संस्थाहरुको समयावधी सकिएको बषौँ समेत भैसक्यो । ति सबै भातृ संस्थाहरुलाई बिधान अनुसार अधिबेशनको प्रकियामा लैजानु पर्छ । कुनै पनि बहाना वा पार्टी बिधानको धारा निलम्वन गरेर अगाडि जान हुँदैन । हामीले निष्ठापूर्वक पार्टी बिधानको पूर्ण पालना गर्नुको विकल्प छैन ।
अतः अब रत्तिभर ढिला नगरी ती संस्थाहरुलाई चलायमान बनाउन विधान, लोकतान्त्रिक विधि र प्रकृया बमोजिम नेतृत्व चयनका लागि महाधिवेशन प्रकिया अगाडि बढाउन प्रस्ताव गर्दछु ।
२. बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गते भित्र बिधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरौँ भन्नेमा जोड दिन चाहन्छु ।
३. स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । अब हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्याएका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पुर्वाग्रह रहित तरिकाले उम्मेदवार चयन गरौँ । यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ । र, मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु । यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ । यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ । मैले यो विषय आफ्नो व्यक्तिगत धारणाका रुपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरीरहनु भएका पार्टीका साथीहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझाव र उहाँहरुको भावनालाई जस्ताको त्यस्तै राखेको हुँ ।
४. अहिले विश्वले नै कौतुहलतापुर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन । यो बिषय निकै माथी उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ । नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।
अतः एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।
५. नयाँ क्रियाशिल सदस्यता बितरण तत्काल सुरु गरौँ र विबाद भएर थाँती रहेका पुराना क्रियाशिल सदस्यताको बिधान अनुसार टुङ्गो लगाऔँ । अन्त्यमा, कांग्रेसभित्रको एकता, सबै साथिहरुको सम्मान र न्यायोचित व्यबस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा सम्बद्र्धन सम्भव छ । मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ ।
