मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीको पछिल्लो केही समयदेखि विभिन्न मुद्दामा नाम जोडिएको छ । अहिले पनि उनीसहित उनकी आमा सुनान्दा र बहिनी समिता सेट्टीलाई अधेरी अदालतले सोधपुछका लागि पत्र पठाएको छ ।
रिपोर्टका अनुसार सेट्टी आमाछोरीविरुद्ध २१ लाख भारतीय रुपैयाँ ऋण नतिरेको आरोप छ । एक व्यापारीले उनीहरूविरुद्ध यस्तो आरोप लगाएका हुन् । सोही विषयमा आइतबार अदालतले उनीहरूलाई सोधपुछका लागि अदालत बोलाउँदै पत्र पठाएको हो ।
अदालतले उनीहरूलाई यही फेब्रुअरी २८ तारिखसम्म हाजिर हुन पत्राचार गरेको छ । आरोप लगाउने व्यापारी अटोमोबाइल एजेन्सीका मालिक हुन् ।
उनका अनुसार शिल्पाका बुवाले उनको कम्पनीसँग सन् २०१७ जनवरीसम्म तिर्ने वाचासहित २१ लाख ऋण लिएका थिए । उनले सन् २०१५ मा ऋण लिएका थिए । शिल्पाका बुवा सुरेन्द्र सेट्टीको यसअघि नै निधन भइसकेको छ ।
सुरेन्द्रले १८ प्रतिशत ब्याजमा लिएको ऋण सेट्टी परिवारले नतिरेपछि उनले कानुनी बाटो रोजेका हुन् । बुवाले लिएको ऋणबारे उनका छोरीहरू र श्रीमती जानकार रहेको ती व्यापारीको दाबी छ । सुरेन्द्रको २०१६ मा निधन भएको थियो ।
