महिला उद्यमीहरूलाई प्रधानमन्त्री तथा उद्योग वाणिज्य आपूर्ति मन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । पाँच जना महिला उद्यमीहरुको टोलीले प्रधानमन्त्री तथा उद्योग, वाणिज्य देउवासँग भेटघाट गरेका हुन् ।
दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली र महिला उद्यमी विकास समितिकी सभापति रिता सिम्हाले देउवासँग भेटवार्ता गरेका हुन् । यस्तै, महिला उद्यमी मञ्चकी संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति शारदा रिजाल समेत भेटवार्तामा सम्मिलित थिइन ।
औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ दफा ८.१ मा महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार, ‘महिला उद्यमीलाई उद्योगतर्फ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी नेपाल सरकारले यस कार्यविधिको प्रावधानअनुरुप महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ’ भने पनि अहिलेसम्म घोषणा गरिएको छैन ।
दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको पीपीपी मोडलमा हरित औद्योगिक पार्क स्थापना भइरहेको छ । जसलाई ‘कृषि पर्यटन पार्क’ को रूपमा प्रवद्र्धन गरिनेछ । सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रीत गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिनेछ । आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेको छ ।
