काठमाडौं, २ फागुन । नेकपा एमालेका सांसद पदम गिरीले ५ दलीय गठबन्धनले प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोगविरुद्ध काउन्टर प्रस्ताव आउन सक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले भने, “गठबन्धनले अदालतमा विचाराधीन मुद्दामा प्रभावित गर्न खोजेको छ । यसका हिडेन इन्टरेस्ट अति गम्भीर र खतरानाक छन् । विभिन्न विकल्पमा कानुनविज्ञसँग छलफल चलिरहेको छ । काउन्टिर प्रस्तावसम्म नपुर्याउला भन्न सकिँदैन । उसले मनपरी गर्दा एमालेले टुलुटुलु हेरेर बस्दैन ।”
महाभियोगको प्रस्तावबाट गठबन्धनले मुठभेड निम्त्याएको आरोप पनि सांसद गिरीले लगाए । उनले थपे, “महाभियोग लगाउनुअघि सरकारले प्रतिपक्षसँग संवाद गरेर अघि बढ्नुपथ्र्यो । यसको अन्तर्यमा निर्वाचन भाँड्ने, अस्थिरता निम्त्याउने, असफल राज्य बनाउने षड्यन्त्र हुन सक्छ । यसले निर्वाचनलाई धेरै पर पुर्याएको छ । प्रचण्ड र माधव नेपालको उक्साहटमा देउवाले अनुचित काम गरेका छन् । यसको सशक्त प्रतिवाद गर्दै लोकतन्त्र र न्यायालयको गरिमा बचाउनुपर्ने चुनौती छ । हामी त्यसको हिसाबकिताब चुक्ता गर्ने गरी अघि बढ्छौं ।”
आज एमाले संसदीय दलको बैठक राखिएको पनि उनले बताए ।
