प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधिकांश सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा पार्टीले सोच विचार गरेर निर्णय लिनुपर्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोक्न नहुने र एमसिसीबारे पार्टीले निर्णय लिनुपर्ने धाराणा राखेका थिए।
बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेका थिए।
आज बोल्ने सांसदमध्ये नेता घनश्याम भुसालले प्रधानन्यायाधीश राणालाई पार्टीले बोकेर जान नहुने कुरा राखेका छन्।
यस्तै नेता भिम रावलले संसदमा टेबल हुन लागेको एमसिसीलाई पार्टीले विरोध गर्ने र पास हुन नदिने गरि रणनीति बनाउन सुझाव दिए।
यस्तै खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटाले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि आफूहरूले पनि काउन्टरमा अन्य न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताए।
यस्तै नेता कृष्णभक्त पोखरेल र लालबाबु पण्डितले पार्टीले काउन्टरमा जान नहुने विचार राखे।
नेता झपट रावललले आसन्न चुनावलाई मध्यनजर गरेर पार्टीले एमसिसी र प्रधानन्यायाधीश राणा दुबैलाई बोकेर हिड्न नहुने धारणा राखे।
यस्तै सांसद मना केसीले नेतृत्वले सोचविचार गरेर निर्णय लिन सुझाईन्। अर्का नेता राजबहादुर बुढाले बदलाको भावनामा काउन्टरमा जान नहुने बताए।
बिमला पौडेलले एमसिसीको विपक्षमा ८० प्रतिशत जनता रहेको भन्दै जनताकै पक्षमा पार्टी जानुपर्ने सुझाइन्।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।
महाअभियोग दर्ता भएसँगै एमालेले आन्तरित छलफललाई तिब्रता दिएको छ।
जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ।’
यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ।
