के तपाईंलाई थाहा छ, पाँच वर्षमुनिका बालबालिकामा पनि आँखाको क्यान्सर हुन्छ भनेर ? उनीहरुमा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिना (retina) बाट पलाउने क्यान्सर (रेटिनोब्लास्टोमा) लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ । यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्ने गरेको छ । रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपनसमेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउँछिन् ।
आँखाकै क्यान्सरका कारण नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट ५० प्रतिशतको मृत्यु हुने गर्छ । यद्यपि विकसित देशहरू भने ५ प्रतिशतभन्दा कमको मृत्यु हुने अध्ययनहरूले देखाएको छ । १७ वर्ष अघिदेखि तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरिएको हो । यद्यपि क्यान्सर रोगको विभाग नै स्थापना गरी उपचार सुरु गरिएको ५ वर्ष पुगेको डा. राजकर्णिकारले बताइन् । तिलगंगा आँखा अस्पतालमा वार्षिक रूपमा ३०० जना आँखाको क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै, आँखाका नयाँ क्यान्सरका बिरामी ५० जना उपचारका लागि पुग्ने उनले बताइन् ।
डा. कर्णिकारअनुसार आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुँदा देखिने लक्षण यस्ता छन् ।
–आँखाको नानीको कालो भागमा सेतो टिका देखिने
–आँखामा डेडोपन देखिने
–आँखा असामान्य रूपमा रातो देखिने दुख्ने
–आँखाको आकार ठुलो हुँदै जाने
–आँखा बाहिरतिर आउने
यस्तै आँखामा आउने ट्युमरलाई पनि विभिन्न पद्धतिबाट उपचार गरिन्छ । यस्तै, ट्युमरको आकार, किसिम, फैलावटको आधारमा उपचार गरिन्छ । एउटा आँखा वा दुवै आँखा ट्युमर भए नभएको कुराले पनि उपचार पद्धतिमा भर पर्ने उनको भनाइ छ ।
