नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले भ्रातृ संस्थाको सन्दर्भमा निर्णय लिने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिले सभापति पद रिक्त भएका र अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा निर्णय लिने अधिकार देउवालाई दिने भएको छ ।
महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार पार्टीको केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ ।
उनीहरूले जिम्मेवारीबाट अलग भएको घोषणा भने गरेका छैनन् । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको नियमित अधिवेशन हुन सकेको छैन । सभापति रिक्त र म्याद सकिएर भ्रातृ संस्थामा वर्तमान कमिटीलाई महाधिवेशन उन्मुख गराउने वा नयाँ ल्याउने भन्नेमा बहस भएको थियो । अधिकांश नेताहरूले नयाँ कमिटी ल्याउनुपर्नेमा जाड दिएका थिए ।
