काठमाण्डाै – नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ, तरुण दल लगायतका भातृ सङ्गठनको कार्यसमिति विघटन गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुस्लिम सङ्घ बाहेकका भातृ सङ्गठनका कार्यसमिति विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको उहाँले बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसले अमेरिकी सहयोग एमसीसी सम्झौता पारित गनुपर्ने पनि निष्कर्ष निकालेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका अहिलेसम्मका सबैजसो सरकारले एमसीसी अघि बढाउन भूमिका खेलेको र अहिले आएर दोधारे कुरा गर्नु आपत्तिजनक रहेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।
एमाले र माओवादीका नेताहरूले आफैँले हस्ताक्षर गरेको सम्झौता अहिले मान्दैनौँ भन्नु देशको हितमा नहुने उहाँको भनाइ छ । एमसीसी सम्झौता नितान्त देशको विकाससँग जोडिएकाले नागरिकमा भ्रम नफैलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
